बाढी प्रभावित क्षेत्रमा राजपाको स्वास्थ्य शिविर

३२ श्रावण २०७४, बुधबार १८:४८
 

सदरलाइन / यदुराज मिश्र
३२ साउन, नेपालगन्ज : बाढी प्रभावित क्षेत्रका स्थानीयबासी बिरामी पर्न थालेपछि राष्ट्रीय जनता पार्टी राजपा नेपालले बुधबार बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
एम्बुलेन्ससहित राजपाको टोली स्वास्थ्य शिविर लिएर त्यहाँ पुगेको हो । डुडुवाको वडा नं. १ होलियास्थित पिप्रहवा, खडैचा र टेपरी गाउँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २५ जनाले स्वास्थ्योपचार गराएका छन् ।
शिविरमा राहतस्वरुप नमकीन, भुजालगायतको खाद्यान्नसमेत वितरण गरिएको राजपाका केन्द्रीय सहमहामन्त्री पशुपतिदयाल मिश्रले जानकारी दिए । राजपा नेपालको आग्रहमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत डा. ओमप्रकाश मिश्रको नेतृत्वमा गएको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको उनले बताए ।
शिविरमा स्वास्थ्य परीक्षणका साथै डा. मिश्रले निजी श्रोतबाट करीब ४० हजार मूल्य बराबरको निःशुल्क औषधि समेत वितरण गरेको राजपाका सहमहामन्त्री मिश्रले जानकारी दिए । शिविरमा अधिकाँश रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, झाडा पखालाका विरामीले स्वास्थ्य सेवा लिएको उपचारमा संलग्न डा. मिश्रले बताए ।
त्यहाँ आएको बाढीका कारण स्थानीयबासीहरुमा झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिएको छ । बाढीले पिउने पानी र वातावरण दूषित भएपछि बाढीग्रस्त क्षेत्रमा भाइरल लगायतका संक्रमण देखिन थालेको डा. मिश्रले बताए । डुडवा गाउँपालिकामा राप्ती नदी आसपासका स्वास्थ्य चौकीहरू पनि बाढीको डुबानमा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको चुनाव

३२ श्रावण २०७४, बुधबार १८:४८
सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सभाको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । तर, निर्वाचन आयोगले […]