बाँकेमा बाढीले सयौ घर डुवानमा, बिहानैदेखि बाढीपीडित भोकभोकै बस्न बाध्य

२८ श्रावण २०७४, शनिबार १९:३७
 

सदरलाइन / रुद्र सुवेदी
२८ साउन, नेपालगन्ज : शुक्रबारदेखि अविरल परेको पानीका कारण राप्तीनदी तथा आसपासका नदी र खोलामा पानीको सतह बढ्दा बाँकेको डुडुवा गाउपालिकाको कम्दी, होलिया बेतहनी लगायतका विभिन्न क्षेत्रहरु डुवानमा परेका छन् । बाढी पसेको कारण विहानैदेखि पीडितहरु बाटो तथा सुरक्षित ठाँउमा भोकभोकै बसेका छन् ।
त्यसैगरी बाँकेको राप्ती सोनारी फत्तेपुर पनेरियामा राप्तीको पानीले बगाएका दुई जनाको करिव ४ घण्टापछि स्थानीयले नै जीवितै उद्दार गरेका छन् । स्थानीय देब बहादुर खाँडले दिएको जानकारी अनुसार पनेरियाका ३२ वर्षिय फुलराम थारु र २८ वर्षिय भागिराम थारुलाई बगाएको ४ घण्टापछि जिवितै उद्दार गरिएको थियो । उनीहरु बगाएको ठाँउबाट करिव ३ सय मिटर टाढा रहेको बबुरको रुखमा अड्किएर बसेको अवस्थामा भेटिएका थिए ।


बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बाढी पीडितको अवस्था र बाँकेमा भएको क्षति र राहतको अवस्था लागि जानकारी लिन ९८५८०२७७७७ मा पटकपटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।
यसैगरी रातभरी परेको पानीको कारण पूर्वपश्चिम सडकखण्डको कोहलपुर– कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धौली नालाको पुल बगाउदा बाटो अवरुद्ध भएको छ । अगैयादेखि ८ किलोमिटर पूर्व रहेको गाभर खोला र ४ किलोमिटर पश्चिम रहेको गन्धौली नालामा सडक बिभागले डाईभर्सन निर्माण गरी बाटो सुचारु गर्नको लागि पहल गरे पनि ती खोलामा पानीको बाहव तीब्र भएको कारण हुन सकेको छैन ।
डुडुवामा आएको बाढी घर भित्र पसेका कारण सयौ मानिसहरु छतमा बस्न बाध्य भएका छन् । डुडुवा–४ का करिम खाँले बाढी घर डुवाएपछि धेरै सर्वसाधारण पक्की घरमा छत छतमा बसिरहेको बताए । उनले बाढीका कारण सर्वसाधारण भोकभौकै रहेको बताए । उनले भने,‘भागेर ज्यानसम्म बचाएका छौ, अहिलेसम्म केही आएका छैनन् ।’
उनले डुडुवा –४ खालेमसाहामा मात्रै ३ सय बढि घर डुवानमा परेको बताए । उनले पीडितहरु खाने कुरा व्यवस्था गर्न समेत माग गरे । ‘पुरै गाउँ डुवानमा छ । घरभित्र पुरै पानी छ, राती कहाँ सुत्ने, बालबच्चालाई कहाँ राख्ने ।’
बाढिपीडित गोबिन्द चौहानले भने ‘ बेलुका ४ बजेसम्म उद्दार र राहतको लागि कोही आएको छैन । घरमा जाँउ पानी भरिएको छ । सबै राप्ती पारीमात्र भन्दछन हामीलाई हेर्ने कोई भएन ।’ डुडुवा खोला र राप्ती नदिमा आएको बाढीले डुडुवा गाउँपालिका– ५ को खजुराका ५० घर, वडा नम्बर ४ को लालपुर र खाले मसाहाका ३ सय घर, वडा नम्बर ३ का कटैया, राजारामपुरुवा र लोधपुरुवा, वडा नम्बर २ अमृतपुरुवा, द्रोणपुरुवा, नौरीगौडीका पुरै घर डुवानमा परेका छन ।
त्यस्तै वडा नम्बर १ खडैचा र पिप्रहवा गाउँ्र पुरै डुबेको छ । डुडुवा १ चौफेरीका सम्पर्क विहिन अवस्थामा छ । बाँकेको राप्तीपारी डुवानको बीचमा फसेकालाई उद्दार गर्न आएको नेपाली सेनाको हेलिकप्टरले उद्दार गर्न नसकेको भन्दै गंगापुर र बैजापुर क्षेत्रमा आपतकालिन खानेकुरा ढुवानीमा लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवत्ता डिएस्पी सरोज पौडेलले जानकारी दिए ।
यता पूर्वपश्चिम राजमार्गमा दुई ठाउँमा पुल भत्कदा राजमार्ग अवरुद्ध छ । भने खजुरा गाउँपालिका– ६ उढरापुरको ८ विगाहा र १० विगाहामा समेत मान खोला पसेर डुवान भएको छ ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वपश्चिम राजमार्ग शनिबार रातिसम्म सुचारु हुनसक्ने

२८ श्रावण २०७४, शनिबार १९:३७
सदरलाइनडटकम २८ साउन, नेपालगन्ज : शुक्रबार साँझदेखि परेको वर्षातको कारण आएको बाढीले ल्याएको रुख अड्किदा पूर्वपश्चिम राजमार्गको गन्धैली खोला र गाभर खोलाको पुल बगाउदा आवगमन ठप्प भएको छ । शनिबार विहानदेखि अवरुद्ध भएको सो आवागमनलाई सुचारु गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक बिभाग तथा अन्य निकायको संलग्नता रहेको छ […]