नेपालगन्जमा यसरी मनाईयो दोस्रो राष्ट्रिय झण्डा दिवस(फोटो सहित )

१ बैशाख २०७४, शुक्रबार १६:०३
 

सदरलाइनडटकम                  
१ बैशाख, नेपालगन्ज : राष्ट्रिय झण्डा दिवस नेपालगन्जमा मनाईएको छ । अन्तरालको व्यवस्थापनमा यो दोस्रो राष्ट्रिय
झण्डा दिवस मनाईएको हो । गत वर्षदेखि नयाँवर्ष अर्थात बैशाख १ गतेको दिन राष्ट्रिय झण्डा दिवस मनाउन सुरु गरिएको हो ।
राष्ट्रिय झण्डा दिवसको अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले काठमाण्डौले राष्ट्रियताको प्रयोग मात्र गर्न जानेको आरोप लगाउदै भने–‘राष्ट्रियतालाई आफ्नो अनुकुल प्रयोग गर्ने जमात बढ्दो छ तर म त्यस्ता व्यक्तिलाएै भन्न चाहान्छु राष्ट्रियता काठमाण्डौमा होईन राष्ट्रियता त नेपालगन्जमा छ काठमाण्डौले त प्रयोग गर्न मात्र जानेको छ ।’
पूर्व अध्यक्ष झाले सरकारले राष्ट्रिय झण्डा दिवसको मनाउनको लागि पहल गर्नु आवश्यक रहेको कुरामा जोडदिदै यसले सबै जात धर्म, वर्ग र समुदायलाई एक शुत्रमा बाँधेर राख्नलाई मद्दत पुराउने बताए ।
उनले राष्ट्रिय झण्डा सबैले राख्न पाउने गरी सबैको बनाउने कार्यमा राज्यले बाताबरण बनाउनु पर्ने धारणा राखे । उनले नेपालगन्जले सुरुगरेको झण्डा दिवसलाई काठमाण्डौले पनि सिको गर्दै अनुसरण गर्न आवश्यक रहेको औल्याए । हिमाल, पाहाड र तराई मधेशलाई एउटै शुत्रमा जोड्को लागि राष्ट्रिय झण्डा दिवस घोषणा गरी मनाउने परिपटीको सुरुवात गरिनु पर्नेमा जोडदिए ।
बरिष्ट विमान चालक तथा कलाकार बिजय लामाले राष्ट्र र राष्ट्रिताको विषयमा सबैको एकमत हुनु पर्नेमा जोड दिदै भने–‘फरक डिजाइनको नेपाली राष्ट्रिय झण्डा संसार मै विशिष्ट पहिचान राख्दछ । विश्वका कुनै पनि देशको झण्डासँग मेल नखाने नेपाली राष्ट्रिय झण्डाको आफ्नो मौलिकता र महत्व छ, त्यसैले यो सबैले अपनत्व गर्न पाउनुपर्छ ।’ उनले राष्ट्रिय झण्डाको लागि राष्ट्रले नै सम्मान दिदै यसको लागि पहल गर्न आवश्यक रहेको बताए ।
उनले भने–‘ म राष्ट्रिय ध्वजाबाहक विमान चलाएर देश विदेश जाँदा बिदेशमा निक्कै सम्मान पाउने गरेको छ । चन्द्र र सुर्य मै सबै ब्रमाण्ड अडेकोले यसको आफ्नो विषेशता र महत्व छ ।’ उनले नेपाली झण्डा फेर्नु पर्ने आवाज उठाउनेले निद्रामा बरबराएको दबी गर्दै भने–‘विश्वमै आफ्नै विषेशता बोकेको चन्द्र सुर्य अंकित झण्डा फेर्न भन्नेहरु निद्रामै बरबराएका हुन बिउझिएको बेलामा यस्तो शब्द निकाल्नै सक्दैनन् ।’
उनले सबै नेपालीको मनमुटुमा रहेको झण्डा फेर्ने कुरा गर्ने अधिकार कसैलाई नभएको चेतावनी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले राष्ट्रिय झण्डाको मान र सम्मान सबैले राख्नु पर्ने दायित्व भएपनि यसको निर्देशिका पालन गर्दै सबैले राख्न पाउने धारणा व्यक्त गर्दै यो दिवसलाई राष्ट्रिय दिवस बनाउनको लागि आफुले आफ्नो क्षेत्रबाट पहल गर्ने बताए ।
नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रम अन्तरालको व्यवस्थापनमा सम्पन्न फेस्टिवल विहान ठिक ७ वजेर ५९ मिनेट जाँदा शुरु भएको थियो । फेस्टिवलमा स्वदेश गान तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्यहरु प्रस्तुत भएका थिए ।
‘झण्डा हामी नेपालीको एकताको प्रतीक हो’—फेस्टिवलका परिकल्पनाकार अन्तरालका टिम लिडर जयनारायण शाहले कार्यक्रममा स्वागत गर्दै भने–‘झण्डाले हामीलाई वर्षमा ३ सय ६५ दिन नै संसारमा चिनाउँदछ वर्षमा १ दिन हामी सवै झण्डाको लागि समय दिउँ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘मोर्चा कै सहमतिमा संशोधन प्रस्ताव दर्ता भएको हो’

१ बैशाख २०७४, शुक्रबार १६:०३
सदरलाइनडटकम     १ बैशाख, काठमाडौं : उपप्रधान् एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिएपनि बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउनेमा सरकार पुगेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भने,‘मोर्चाको माँग सम्बोधन गर्नको लागि हामीले […]