‘बिद्यार्थी निर्वाचन : ‘लडाईं र पढाई’

  
  प्रकाशित मितिः शुक्रबार, फाल्गुन ६, २०७३       | 86 Views   ||

सरकारी बिश्वबिद्यालयहरुमा यही फागुन १४ गते स्वबियू निर्वाचन हुदैछ । आठ बर्षदेखि स्थगित यो निर्वाचन हुनु आफैमा नराम्रो कुरा होइन । तर यत्तिका बर्षसम्म निर्बाचन हुन नसक्नु या हुन नपाउनुमा को को जिम्मेवार छन् त्यसको सही किसिमले हिसाब किताब भएन भने यो चुनाव केवल चुनाबको लागि हुनेछ । जसरी राजीतिक क्षेत्रमा बिगत झण्डै बीस बर्षदेखि स्थानीय तहको निर्वाचन गराइएको छैन र त्यसको जिम्मेवारी पनि कसैले लिएको छैन । तर सबै संसद र सकारमा पुगेर सत्ताको स्वाद चाखिसकेका दलहरु चुनाव गराउने भजन गाइरहेका छन् तर चुनाव गराउने समय सारिणी तय गरिरहेका छैनन् । निर्बाचन नगराए पनि लोकतन्त्रको हिमायती आफुभन्दा अब्बल कोही छैन भन्ने खालको दाबी गर्नेमा भने तिनै दलहरु छन् ।
जनता र राष्ट्रका मूल राष्ट्रिय र महत्वपूर्ण मुद्दामा किचलो झिक्ने र निकास नदिने जस्तो कि अहिले चुनाव र संबिधान संशोधनको मुद्दा छ तर भागबण्डा, बेतन र सुबिधा बृद्धिका लागि रातारात राष्ट्रिय सहमति गर्ने कुरा जुन चल्दै चलाइदै आएको छ त्यसले नै दल बिशेषको नेतृत्वको नियत र देश तथा जनताको नियति के हुने रहेछ प्रष्ट हुँदै आएको छ र भइरहेको छ । यो गलत र अस्वीकार्य परम्परालाई तोड्न र छोड्न नसकेसम्म मुलुकको स्थिति सुध्रिने र जनतामा आशा भरोसा जाग्ने कुरा बिकसित हुन सक्तैन । यो सामान्यतः बिगतदेखिकै र मूलतः गणतन्त्र आएपछिदेखिको स्थितिको तीतो अनुभब हो ।
यस परिप्रेक्षमा हुन लागेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनले कुन दिशा र गति लिनु पर्ने हो स्वतः सिद्ध छ । तर आज हिजो बिद्यार्थी समुदायलाई राजनीतिक परिवर्तनको भ¥याङ बनाउनेहरुले नै अब बिद्यार्थीहरु राजनीतिमा लाग्नु हुदैन भनेर देशका कर्णधार, परिवर्तनका सम्बाहक यो समुदायलाई गुमराह गर्न खोजिरहेका छन् । मानौ, अब बिद्यार्थीहरुले खुरुखुरु पढ्नु र जागीर खानु या कुनै पेशा मात्र गर्नु पर्दछ । उनीहरुले देश र जनताका बारेमा सोच्नै पर्दैन, गरीबी, अभाव, असुरक्षा, शोषण, दमन र उत्पीडन जस्ता बिकृति र बिसंगतिहरुका बिरुद्ध लड्नै पर्दैन, शान्ति, समृद्धि, समानता र स्वाधीनताका लागि खडा हुनै पर्दैन । ज्ञान बिज्ञानले सुसज्जित बिद्यार्थी समुदायलाई यसरी गुमराह गर्ने जुन तारतम्य रचिदैछ त्यसप्रति बिद्यार्थी समुदाय स्वयं सचेत, संगठित र संघर्षशील हुनै पर्दछ ।
निश्चय नै बिद्यार्थी समुदायको पहिलो र आधारभूत काम भनेको शिक्षा प्राप्त गर्नु नै हो । यसमा कसैले बिमति जनाउन सक्तैन र जनाइनु पनि हुदैन । त्यसको निम्ति ‘सबैका लागि शिक्षा, सबैका लागि काम’ भन्ने कुरालाई केन्द्र बिन्दूमा राखेर पढ्न योग्य सबै बालबालिकाले पढ्ने अवसरका लागि, अनुकूल र उचित शैक्षिक बातावरणका लागि अनि नियमित र उत्कृष्ट पठन पाठन तथा रोजगारीमूलक शिक्षाका लागि उनीहरुको सर्बाधिक ध्यान जानै पर्दछ । खाशगरी उच्च र मध्यम स्तरीय शिक्षा प्राप्त गरिरहेका वा गर्ने उमेर समूहका बिद्यार्थीहरुले ध्यान दिनु पर्ने र आवाज उठाउनुपर्ने तथा मानबीय उत्कृष्टता हासिल गर्नु पर्ने कुरा नै यीनै हुन् ।
तर यी सबै कुरा हासिल गर्नका लागि बिद्यार्थीहरुले बिर्सन नहुने र निरन्तर ध्यान दिइरहनु पर्ने कुरा के हो भने – रोजगारमूलक बैज्ञानिक शिक्षको निम्ति लडाईं, सामाजिक परिवर्तनका लागि पढाई ! अर्थात बिद्यार्थीहरुको ‘लडाई र पढाई’ के का निमित्त भन्ने कुरानै अन्ततः सबैभन्दा निर्णायक र महत्वपूर्ण कुरा हो । यसरी मात्र बिद्यार्थीहरुले देश र जनताको समानता, समुन्नति र स्वतन्त्रताका लागि काम गर्ने उचित बातावरण बनाउन सक्तछन्, राष्ट्रलाई सही दिशामा अगाडि बढाउन सक्तछन् र सही अर्थमा देश र जनताको कर्णधार पनि आफुलाई साबित गर्न सक्तछन् ।
यसै सन्दर्भमा हाम्रो शिक्षा नीति, पाठ््यक्रम, पठन पाठन र परीक्षाका बिषयहरुलाई पनि आज हाम्रो देशको राष्ट्रिय आवश्यकता, बिश्व परिबेश र कम्तिमा २१औ. शताब्दी सुहाउँदो हुने गरी बैज्ञानिक किसिमले परिमार्जन गर्न, बदल्न र अद्यतन गर्नु पर्दछ । खाशगरी हाम्रा देशको आजको पृष्ठभूमिमा हाम्रो शिक्षा कृषि, उद्योगधन्धा, सामाजिक संचरना र सस्कृति सबैलाई समुन्नत तुल्याउन खालको हुनुपर्ने कुरा स्वत अगाडि आउँदछ । हाम्रो जमिन, जल, जगल, जडीबुटी, जनशक्तिसँग जोडिएको र हाम्रो देशलाई सशक्त, आत्मनिर्भर र त्यस आधरामा अन्तरनिर्भर तुल्याउने खालको र स्वभावतः हाम्रो राष्ट्रिय क्षमता निरन्तर अभिबृद्धि र उन्नयन गर्ने दिशामा अबिराम अघि बढ्ने बढाउने खालको शिक्षा आजको आवश्यकता हो भन्ने कुरा बिद्यार्थी समुदायले उठाउनु अत्यावश्यक छ । बिद्यार्थी निर्वाचनको सन्दर्भमा गम्भीररुपमा सोचेर अघि बढ्न आजको राष्ट्रिय आवश्यकता हो !
सुबेदी नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष हुन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ६, २०७३     9:31:59 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *